Friday, May 27, 2011

संविधानसभाको म्याद आज सकिदैं/आठ बजे बोलाइएको संसद बैठक सुरु भएन/दलहरु आन्तरिक छलफलमा व्यस्त

काठमाडौ, जेष्ठ १४ - एकवर्ष समयावधि थपिएको सहित संविधानसभाको म्याद आज(शनिबार)मध्यरातिबाट सकिदैंछ । म्याद थपका लागि दलहरुबीच सहमति नजुट्दा के हुने हो भन्ने अन्यौल बढे्को छ । व्यवस्थापिका संसदको बैठक बिहान ८ बजे बोलाइएपनि सुरु हुन सकेको छैन् । प्रमुख तीन दल बिहानैदेखि आन्तरिक बैठकमा व्यस्त छन् ।

संविधानसभा परिसरमा सभासदहरु पुगेका छन् । शीर्ष नेताले के निर्णय गर्छ भन्ने मुख ताकेर सभासदहरु चौर र क्यान्टिनमा बसेका छन् । परिसरमा तीन वटा पाल लगाइएको छ । सभासदहरुका लागि क्यान्टिनमा खानाको व्यवस्था छ ।

संविधानसभा भवन नयाँ बानेश्वर क्षेत्रमा धर्ना बस्न खोजेका पूर्व सांसदहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस क्षेत्रमा ठूलो संख्यमा प्रहरी परिचालन गरिएको छ । एमाले निकट युवा संघले बानेश्वरमा सभा गर्ने तयारी गरेको छ । उसले आफ्नो मंच बनाउँदैछ ।

दलहरुबीच सहमति नजुट्दा आम नेपाली अब के हुने हो भन्ने प्रश्नले घेरिएका छन् । शुक्रबार दिनभरि माओवादी,कांग्रेस र एमाले तीन दलबीच भएको वार्तामा दलहरुको आ-आफ्नै अडानमा रहेपछि सहमति जुट्न सकेन ।

संविधानसभाको म्याद थप्नुअघि माओवादीले हतियार बुझाउनुपर्ने कांग्रेसको अडानलाई माओवादीले अस्विकार गरेपछि सहमति हुन सकेन । तीन दलबीच ११ बजे पुनः बैठक बस्दैछ ।

निर्धारित दुई वर्षको अवधिमा संविधानसभाबाट संविधान नबनेपछि गतवर्ष राजनीतिक सहमतिमा एकवर्षका लागि म्याद थपिएको थियो । थपिएको समावधिमा पनि संविधान निर्माणले पूर्णता नपाएपछि सरकारले संविधान संशोधनको गरेर एक वर्ष थप म्याद थप्ने व्यवस्थापिका संसदमा प्रस्ताव दर्ता गराएको छ । तर,विपक्षी दलहरुले निरन्तर संसद अवरोध गरेपछि सरकारको उक्त प्रस्ताव संसदको बैठकमा प्रवेश पाउन सकेको छैन ।